नेपाली शेयर न्यूज । पछिल्ला वर्षहरूमा उठ्न बाँकी कर बक्यौता बढ्दै गएको छ। आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, दस्तुर र विलम्ब शुल्कसहित उठ्न बाँकी कर रकम ९४ अर्ब ९५ करोड पुगेको छ।
कर कार्यालयहरूले निर्धारण गरेको रकम करदाताले चित्त नबुझाउँदा बक्यौता रकम अर्बौंमा रहेको विभागको जानकारी छ। विभागका अनुसार विवादित रकम १ खर्ब ८० अर्ब १० करोड पुगेको छ, जसमा प्रशासकीय पुनरावलोकन र अन्य न्यायिक निकायमा अपिलमा रहेका कर रकम समावेश छन्।
अघिल्लो वर्ष आयकरमा २२ अर्ब ७६ करोड असुलीको लक्ष्य राखिएकोमा ८ अर्ब ७१ करोड मात्रै असुली भएको छ, जसले ३८.२९ प्रतिशत प्रगति देखाउँछ। मूल्य अभिवृद्धि कर (मू.अ.कर) मा १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड असुली भएको छ, जसले १२२.६३ प्रतिशत प्रगति देखाउँछ। कानुनी कारबाहीमार्फत असुल गर्ने ४ अर्ब ३९ करोड लक्ष्यमा मात्र १ अर्ब ७९ करोड असुली भएको छ, ४०.७७ प्रतिशत प्रगति रहेको विभागले जनाएको छ।
नेपालमा व्यवसाय, रोजगारी तथा लगानीबाट आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार समयमै घोषणा गर्नुपर्ने कानुनी व्यवस्था छ। विवरण समयमै नदिँदा वा अन्य कारणले तोकिएको कर समयमै नबुझाउँदा ती रकम बक्यौता कायम हुने गर्दछ।
























